इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा



काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

पेनाल्टी सुटआउटमा लियोनेल मेसीले अर्जेन्टिनाका लागि हानेको पहिलो पेनाल्टी मिस गरेका थिए । मेसीले हानेको बल बारमा लागेर बाहिरिएको थियो ।


तर अर्जेन्टिनाका लागि अन्य चार खेलाडीले गोल गरेपछि जित सुनिस्चित भएको हो । इक्वेडरका दुई खेलाडीले प्रहार गरेको पेनाल्टी अर्जेन्टिनाका गोलकिपरले बचाएका थिए ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा अर्जेन्टिना र इक्वेडरले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । कोपा अमेरिकाको क्वाटरफाइनलदेखिका खेलमा ३० मिनेटको अतिरिक्त समय राखिएको छैन ।

खेलको ३५औ मिनेटमा लिसान्द्रो मार्टिनेजको गोलमा अर्जेन्टिनाले शुरुवाती अग्रता लिएको थियो भने खेलको ९० मिनेटपछिको इन्जुरीसमयमा केभिन रोड्रीगेजले गोल गर्दै इक्वेडरका लागि खेल बराबरी गरेका थिए । अब सेमिफाइनलमा अर्जेन्टिनाले भेनेजुएला र क्यानडाबीचको विजेतासँग खेल्ने छ । यो खेल जुलाई ९ मा हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here