अवैधरुपमा ओसारपसार गर्न लागिएका गोरुसहित ट्रक चालक नियन्त्रणमा



मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङबाट आज दिउँसो अवैधरुपमा ओसारपसार गर्न लागिएका १८ वटा गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।

दिउँसो १२ बजेको समयमा स्थानीय भान्जा वर्कशपभित्र राखेको अवस्थामा १८ वटा गोरु र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना७ख ६६६८ नंको ट्रकमा गोरु ‘लोड’ गरी आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोरु र ट्रकलाई नियन्त्रणमा लिएको हो ।


प्रहरीले ट्रकचालक मनहरी गाउँपालिका–५, वसन्तपुर बस्ने ३० वर्षीय अनिल बयलकोटीलाई नियन्त्रणमा लिएर गोरु, ट्रक र ट्रकचालकलाई आवश्यक अनुसन्धानका लागि पशु क्वारेन्टिन कार्यालय पथलैया पठाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।