अफगानी निर्वासन रोक्न पाकिस्तानलाई मलालाको आग्रह



नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले विशेष गरी महिला र बालिकाहरुको अन्धकार भविष्यप्रति चिन्ता व्यक्त गर्दै पाकिस्तानलाई कागजातविहीन अफगानीहरूको निर्वासन रोक्न आग्रह गरेकी छन् ।

“पाकिस्तानले त्यहाँ रहेका अफगानी शरणार्थीहरूलाई फिर्ता जान बाध्य गरिरहेको छ भन्ने कुरा गहिरो चिन्ताको विषय हो । म विशेषत महिला र बालिकाहरूको बारेमा चिन्तित छु”, सन् २०१४ मा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत मलालाले बताइन् ।


इस्लामाबादले यस हप्ता अवैध आप्रवासीहरूलाई हटाउने बताएको हो ।

गत वर्ष इस्लामाबादले कागजातविहीन आप्रवासीहरूलाई तुरुन्तै पाकिस्तान छोड्न वा गिरफ्तारीको सामना गर्न आदेश दिएपछि ६ लाख भन्दा बढी अफगानहरू पाकिस्तानबाट भागेका थिए ।

पाकिस्तानबाट अफगानिस्तानमा फिर्ता पठाइएका केहीले तालिबानद्वारा उत्पीडनको सामना गर्नुपरेको मानव अधिकार पर्यवेक्षकहरूले चेतावनी दिएका छन् ।

सन् २०२१ मा सत्ता नियन्त्रणमा लिएको तालिबानले इस्लामको कठोर रूप लागू गरेका छन्, बालिकाहरूलाई उच्च शिक्षाबाट प्रतिबन्ध लगाइएको छ र महिलहरूको सार्वजनिक जीवनमा प्रतिबन्ध लगाइएको छ ।

“पाकिस्तानमा बालिकाहरुले पढ्ने मौका पाइरहेका थिए, महिलाहरु रोजगारमा संलग्न हुदै थिए”, २७ वर्षीया मलालाले भनिन् ।

“मलाई आशा छ कि अफगानस्तानमा महिलालाई हुनसक्ने उत्पीडनलाई मध्यनजर गर्दै पाकिस्तानले आफ्नो नीतिलाई परिवर्तन गर्नेछ”, उनी बताउँछिन्।