स्कूल बस दुर्घटना : महानगरबाट छानबिन समिति गठन



कास्की । पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ । 

एलपी देवकोटा मेमोरियल स्कुलको बस विद्यार्थी लिएर आउँदै गर्दा दुर्घटनामा परी दुई जनाको मृत्यु र २८ जना घाइते भएपछि महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो ।


समितिमा महानगरका उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इञ्जिनीयर सरोज चालिसे सदस्य रहेका छन । समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारीलाई तोकिएको छ ।

समितिलाई दुर्घटनाको कारण, सवारीसाधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीको सङ्ख्या, विद्यार्थी राख्न पाउने सङ्ख्यालगायत विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए ।

पोखरा–२१ मा भएको दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका छोरा छ वर्षीय प्रिन्स विकको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो । दुर्घटनाग्रस्त बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पताल पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । महानगर प्रमुख आचार्यले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन चिकित्सकहरूलाई निर्देशन दिएका छन् ।