लुम्बिनीका मुख्यमन्त्रीको शपथ आज, को-को बन्दैछन् मन्त्री ?



लुम्बिनी । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ ग्रहण गर्दैछन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम एमाले प्रदेशसभा संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

दुई दलबीच मन्त्रालय भागबन्डा गरेर मन्त्रीहरूको समेत टुंगो लगाएर आचार्यले आज शपथ ग्रहण गर्न लागेका हुन्। मुख्ममन्त्रीसहित मन्त्रीहरुको शपथ अहिले बिहान साढे ८ बजे राखिएको छ।


उनको क्याविनेटमा एमालेको तर्फबाट गुल्मीका दिनेश पन्थी, रूपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू र दाङ बाट सीता चौधरी शर्मा मन्त्रीको रुपमा सहभागी हुँदैछन् । पन्थी अघिल्लो सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री र ढकाल खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री थिए।

कांग्रेसले पनि लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंगो लगाएको छ । बर्दिया जिल्लाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने जनाइएको छ ।

गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्ड विक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीको नाम मन्त्रीको रुपमा टुंगिएको जनाइएको छ ।