लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन



घोराही (दाङ) । दाङको एक मात्र भन्सार कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा एक करोड ४० लाख ७६ हजार ९० राजस्व सङ्कलन गरेको प्रमुख दीपक शर्माले जानकारी दिए ।


भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि रु एक करोड एक लाख ३८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो । भारतबाट प्यूठानको स्वर्गद्वारी, दाङको चौघेरा, रिहारलगायत धार्मिक क्षेत्रको भ्रमणका लागि आउने तीर्थयात्रीका सवारी साधनबाट बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।

पछिल्लो समय दाङ आसपासका क्षेत्रमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ । यसरी आउने भारतीय पर्यटकहरुबाट भन्सार कार्यालयले दुईपाङ्ग्रे सवारी साधनको एक दिनको दुई सय र चारपाङ्ग्रे सवारी साधनबाट एक दिनको छ सय राजस्व लिने गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि एक करोड ६३ लाख छ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको छ ।