यो सरकार प्रचारबाजी होइन, काम गर्न आएको हो : मन्त्री डा राणा



काठमाडाैँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सरकार हल्ला र प्रचारबाजी गर्न नभई काम गर्नका लागि आएको बताएकी छिन्।

बुधबार राहदानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उनले भनिन्, ‘वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ। यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको हो।’


नेपाली कांग्रेस र नेकपा एमाले नेपालमा ठूलो राजनीतिक परिवर्तनका साक्षी र सहयात्री रहेका उल्लेख गर्दै उनले दुवै दलका नेताहरूले देशको आवश्यकतालगायतका धेरै कुरा बुझेर नै सहकार्य गरेकाले यो सरकारको स्थायित्वबारे प्रश्न नगर्न आग्रह गरिन्।

मन्त्री डा. राणाले भनिन्, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीजीले धेरै कुरा विचार गरेर मुलुकलाई निकास दिने उद्देश्यका साथ यो सरकार निर्माणका लागि लाग्नुभएको हो, त्यसैले यो सरकारले देशका लागि केही गरेर देखाउनेछ।’

एक प्रश्नको जवाफमा उनले नयाँ बनेको सत्तासमीकरण कुनै एक व्यक्तिका कारणले नभएर मुलुकका दुई ठूला दलले आवश्यकताको बोध गरेर निर्माण भएको स्पष्ट पारिन्।

हिजो मात्र प्रधानमन्त्री केपी ओलीले यस विषयमा स्पष्ट गरेको स्मरण गर्दै मन्त्री डा. राणाले सरकार ढल्छ भन्ने या अरू कुनै पनि कारणले काममा ढिलासुस्ती गर्ने तथा नागरिकलाई ‘डेलिभरी’ दिने काममा ढिला गर्ने छुट सरकार र कर्मचारी कसैलाई नभएको बताइन्।

कहीँ–कतै प्रमाण या उजुरी नहुँदानहुँदै पनि आफ्नो नाममा विभिन्न काण्ड खडा गरेर जोड्ने गरिएको भन्दै मन्त्री राणाले आपत्ति जनाइन्। उनले भनिन्, ‘कतै तथ्य छैन, कुनै गल्ती गरेको अवस्था छैन, तैपनि कतिले सोसियल मिडिया त कतिले मिडियाबाट नै मेरो नाम मुछ्ने गरेका छन्, प्रजातन्त्र छ भन्दैमा यस्तो पनि गर्न मिल्दोरहेछ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा जसले आफ्नाविरुद्ध बयान दियो भनेर दुष्प्रचार गरियो, उसैले पछि चिन्दिनँ भनेको प्रसंग उल्लेख गर्दै अनावश्यक रूपले आफ्नो नाम जोडेर मिडिया ट्रायल गरिएको बताइन्।

टीकापुर जग्गा प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा उनले भनिन्, ‘म यहाँहरूलाई अनुरोध गर्छु कि यो सूचनाको हक भएको देश हो। यहाँहरू फिल्डमै जानुस् र के हो भन्ने तथ्य आफैँ थाहा पाउनुहोस्, कहीँ कतै मेरो गल्ती देख्नुभएछ भने म यहाँहरूसँग त्यतिवेलै कुरा गरौँला।’