भारतबाट एक अर्बको आलु आयात



खजुरा (बाँके) । बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०÷८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ ।

सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९÷८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो ।


आर्थिक वर्ष २०७९÷८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो । आलु आयातबाट आव २०७९÷८० मा रु १४ करोड ७७ लाख २२ हजार तथा गत आव २०८०÷८१ मा रु २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताउनुभयो । अघिल्लो आवको तुलनामा गत आवमा रु १३ करोड राजश्व वृद्धि भएको छ ।

पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताए । उनका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन ।