बुढानिलकण्ठमा देउवासँग ओलीको भेटवार्ता



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । कांग्रेसको समर्थनमा सत्तारोहणको तयारीमा रहेका ओली आज (बुधबार) साँझ देउवा भेट्नको लागि बुढानिलकण्ठ पुगेका हुन् । उनी आज महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल लिएर बुढानिलकण्ठ पुगेका थिए । देउवा पत्नी आरजु राणा र रमेश लेखकसहित निवासमा थिए ।

उनीहरुबीच मन्त्रालयको भागबण्डामा गम्भीर ढंगले कुराकानी भएको बताईएको छ । यसअघि दुई दलबीच सत्ता सहकार्यको सहमति भएको बेलामा कांग्रेस र एमालेले क्रमशः १० र ९ मन्त्रालय लिने सहमति भएको कुरा बाहिर आएको थियो । अहिले दुई तिहाई पुर्याउनको लागि साना दललाई पनि साथमै लिनको लागि पनि आज देउवा र ओलीले मन्त्रालय कम लिने तर साना दललाई पनि साथमा लिएर जाने समझदारी गरेको बताईएको छ ।


माओवादी केन्द्रको संसदीय दलको बैठकले भने प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत लिन असफल भए धारा ७६ को ३ अनुसार नयाँ सरकार गठनको लागि आह्वान हुने भनेको छ । तर, कांग्रेस र एमाले दुवै दलका नेताहरुले भने संविधानको धारा ७६ को २ अनुसार नै सरकार गठन हुने भनेका छन् ।

प्रधानमन्त्री दाहालले यही असार २८ गते विश्वासको मत लिने तय भएको छ । अहिले कांग्रेस र एमाले भने नयाँ सरकार गठनको तयारीमा जुटेका छन् । दुवै दलले नयाँ सरकारमा कस्तो टिम पठाउने भन्नेसम्मको छलफल थालेका छन् । तर, प्रधानमन्त्री दाहाल भने कुनैपनि हालतमा ओलीलाई प्रधानमन्त्री हुन नदिनको लागि लागिपरेको चर्चा छ ।