बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु, एकजना गम्भीर घाइते



जानकी (बाँके) । बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । अर्की एक महिला गम्भीर घाइते भएकी छिन् । 

राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा दुई महिलाको चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन् । 


गम्भीर घाइते दुवैको उपचारका क्रममा ज्यान गएको हो । चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन् । उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।