बस्तीमा पस्दै बलान नदीको बाढी



सिरहा। सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ। चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन्। वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन्।

‘जमिनको लालपुर्जा छ, तर जमिन छैन। दशकौँदेखि गरिखाने जमिन बाढीले बगायो’, लहान नगरपालिका—२३ बसनपुरका गंगाप्रसाद यादवले भने। यादवको करिब १५ वर्षअघिसम्म तीन बिघा खेत थियो। बलान नदीले उर्वर जमिन बर्सेनि कटान गरेपछि अहिले उनको बिचल्ली भएको छ। आठ कठ्ठा आँपको बगँैचा रहेको जग्गा पछिल्लो दुई दिनमा बाढीले कटान गर्‍यो।


बाढीले जग्गा कटान गरेपछि सञ्जयकुमार यादवको अवस्था पनि गङ्गाप्रसादको जस्तै छ। बाढीले १० बिघा जमिन कटान गरेको उनको भनाइ छ। बाढीले बाँकी रहेको घर जग्गा बगाउने उनले चिन्ता व्यक्त गरे। सञ्जय र गंगाप्रसादको जस्तै बलान नदी तटीय क्षेत्रका सयौँं परिवारको बिचल्नी छ। इटहर्वा, भगवानपुर, तिलेबोनालगायत गाउँ बलान नदीको बाढीको चपेटामा छन्।

लहान नगरपालिका–३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिका–३ र ४ अन्तर्गत परिहारपुर, इटहर्वा, सिम्राहा, सखुवा, तिलेबोना तथा भगवानपुर गाउँपालिका–१, ३ र ४ वडामा पर्ने भगवानपुर, लालपुर, कल्याणपुर, सिनुरिया र मरिकटोल बाढी, डुबान र कटानको जोखिममा रहेका सखुवानन्कारकट्टी गाउँपालिकाका–४ का हरिलाल यदवले जानकारी दिए। बाढीले बसनपुरमा २२ बिघा, भगवतीपुर मौजीमा ५१ बिघा र सिम्राहा मौजीमा ८४ बिघा उर्वर खेत कटान गरिसकेको छ। चुरे दोहनका कारण नदीले धार परिवर्तन गरेको स्थानीय बताउँछन्। ‘जमिन कटानपछि बाढी गाउँ पस्ने गरेको छ’, स्थानीय मुशहरु यादवले भने।

बलान नदी नियन्त्रणका लागि पहल भएपनि कटानको समस्या समाधान हुन नसकेको लहान नगरप्रमुख महेशप्रसाद चौधरीले बताए। ‘नगरपालिकाले चालु आर्थिक वर्षमा मात्र रु ५० लाखको तारजाली र ढुंगा बिछ्याएको छ, तर समस्या उस्तै छ’, उनले भने।