पेट्रोल–डिजेलको मूल्य बढ्यो



काठमाडौं। नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा चार रूपैयाँ र डिजेल–मट्टिटेलमा ३ रूपैयाँले वृद्धि गरिएको आयल निगमले जनाएको छ।

निगमको सूचना अनुसार सोमबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।


मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ कायम गरिएको छ। त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य एक सय ५७ कायम गरिएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० कायम भएको छ। डिजेल र मट्टिटेलको मूल्य एक सय ५९ कायम भएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य एक सय ६० रुपैयाँ कायम भएको छ।