नेकपा एसको ९३ केन्द्रीय सदस्यको सूचीमा अटाएनन् प्रेम आले, गरे पार्टी छाडेको घोषणा



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरुसहितको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटीमा प्रेम आले भने अटाएका छैनन् । यसअघि केन्द्रीय सदस्य रहेका आले महाधिवेशनबाट हटाइएका हुन् ।


महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफु पार्टीमा सक्रिय नरहेको जानकरी दिएका हुन्। असार १६ गतेदेखि शुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने जनाए।

उनले भने, ‘मैले संसदीय दलको बैठकमा अध्यक्ष माधव कुमार नेपालकै अगाडी म तपाइको पार्टीमा रहदिन भनेको थिए । त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु । अन्य पार्टीमा जाने बारे अहिले सोचेको छैन ।’

आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरु पदाधिकारी रहेको बताए । उनले भने, ‘म त तीन पटक लगातार निर्वाचित सांसद हुँ ।’

प्रभावशाली नेताको रुपमा हेरिएका कृष्णकुमार श्रेष्ठ (किसान) पनि केन्द्रीय समितिबाट बाहिरिएका छन् । महाधिवेशनले चयन गरेको कमिटीमा उनको नाम छैन ।