देशभर ८५ प्रतिशत धान रोपाइँ सकियो, सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा



काठमाडौँ । यो वर्ष देशभर करिब ११ लाख ८१ हजार ४७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकामा ८४.५ प्रतिशत मात्रै धान रोपाइँ सकिएको हो । जबकि गत वर्ष साउन ५ गतेसम्म ६९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

यो वर्ष सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म १ लाख ६८ हजार १५६ हजार अर्थात् ९६.३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयका अनुसार १ लाख ७४ हजार ५७६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुनुपर्ने आकलन थियो ।


सबैभन्दा कम रोपाइँ भएको मधेस प्रदेशमा ८०.६ प्रतिशत छ । जहाँ ३ लाख ८३ हजार १५० हेक्टरमध्ये ३ लाख ८९ हजार १ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

यस्तै, कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमध्ये २ लाख २८ हजार ५१४ हेक्टर ८२.७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । बागमती प्रदेशमा ९५ हजार ९८८ हेक्टर (८३.८) प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ८० हजार ९३२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा २ लाख ६० हजार २४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको भने कर्णाली प्रदेशमा हालसम्म ३८ हजार ९५५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।