दिवा सेवा केन्द्र ज्येष्ठ नागरिकलाई दौँतरी भेट्ने थलो बन्दै



देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र वर्षअगाडि श्रीमान्को निधन भएपछि उनी एक्लै भए । बिहान–बेलुकाको समय घरमा छोराबुहारी नातीनातिनासँग बित्ने गर्छ ।

दिउँसो समय बिताउन उनलाई निकै सास्ती हुने गरेको थियो । दिउँसो निन्द्र नलाग्ने, आलस्य हुने समस्याले उनी चिन्तित थिए । घोरही–६ गुरुवागाउँमा स्थापना भएको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा आउन थालेदेखि रमाइलो लाग्ने गरेको अधिकारीले बताए । “यहाँ दैनिक भजन, कीर्तनसहित रमाइलो गरिन्छ । भजनमा नाच्न मन लाग्छ, खुट्टाले साथ दिँदैन, हेरेरै रमाइलो गर्छु,” उनले भने ।


जीवनको उत्तराद्र्धमा ज्येष्ठ नागरिकलाई दिन गुजार्न धौधौ भएको समयमा दिवा सेवा केन्द्र मन भुलाउने थलो भएको छ । “एउटै टोलका बासिन्दा भए पनि सामान्यतयाः भेटघाट हुन मुस्किल पर्ने गरेको थियो । सामूहिक भेटघाटको अवसर केन्द्रले गराएको छ । दिनभर रमाइलो हुने भएकाले समय गएको पत्तै हुँदैन”, अधिकारीले भने ।

घोराही–६ का एकराज अधिकारी ८१ वर्षका भए । उनी पूर्वकर्मचारी हुन् । अवकाश भएपछि घरमा दिन बिताउन गाह्रो भएको थियो । केन्द्रमा दिउँसो भेला हुन थालेपछि उनको एक्लोपनमा परिवर्तन आएको छ । “दिउँसोको समयमा रामायण, महाभारत भागवत गीतालगायत पुस्तक पढ्ने गछौँ”, उनले भने, “मादल, हार्मोनियम बजाउँछौँ, भजनकीर्तन गर्र्ने, हाँसो ठट्टा गरेर रमाइलो गर्छौं, आफ्ना दौँतरीसँग भेट हुँदा छुट्टै आनन्द आउँछ ।”

सुगर, प्रेसरजस्ता दीर्घ रोग बोकेर घरमा एक्लो जीवन गुजार्दा समस्या झन् बल्झिने डर रहेको भन्दै यहाँ आउन थालेपछि धेरै राम्रो भएको एकराजले बताए । “अरू रोगका साथै खुट्टामा समस्या छ, हिँड्डुल गर्न समस्या हुन्छ । छोराले मोटरसाइकलमा पु¥याउने गरेको छ”, उनले भने, “सबै जम्मा भएर यहाँ दिनभरि रमाइलो गर्छौं । मन हलुङ्गो हुन्छ ।”

घोराही–६ शुभलक्ष्मी टोलका बामदेव अधिकारी पूर्वशिक्षक हुन् । उनलाई नसाको समस्या भएकाले सजिलोसँग हिँड्डुल गर्न समस्या छ । घरमा दिनभर बस्न पनि सास्ती हुने गरेकाले विस्तारै केन्द्रमा आउने गरेको बामदेवले बताए। “केन्द्रमा दौँतरीसँग भलाकुसारी गर्दा समय गएको पत्तो हुँदैन, रमाइलो हुने गरेको छ”, उनले भने ।

घोराही–६ मा रहेको दिवा सेवा केन्द्रका अध्यक्ष पदमप्रसाद अधिकारीले दिनभर रमाइलो गराउन र ज्येष्ठ नागरिकलाई एकअर्कासँग परिचित गराई निराशा हटाउन केन्द्र सञ्चालन गरिएको बताए । यसअघि दिनभर एक्लै घरमा बस्दा मनमा अनेक कुरा खेल्ने र खिन्न हुने समस्या रहेकामा केन्द्रमा आउने सबै ज्येष्ठ नागरिक हसिला, खुसिला र फूर्तिला देखिने गरेका उनले जानकारी दिए ।

केन्द्रमा दैनिक २० देखि २५ जना ज्येष्ठ नागरिक आउने गरेका अध्यक्ष अधिकारीले बताए । उनका अनुसार वडाभित्रका गुरगै, जजरागाउँ, चैनपुर, अघरा र गुरुवागाउँका ज्येष्ठ नागरिक यहाँ आउने गरेका छन् । केन्द्रमा ९५ जना ज्येष्ठ नागरिकको नाम दर्ता भएको उनले जानकारी दिए ।

“यहाँ साथीहरुसँग दुःख, सुख साटासाट हुन्छ, एक आपसमा रमाइलो गरेर दिन बिताउने गरेका र्छौं”, बामदेवले भने, “स्थानीय सरकारले दिनभरि भए पनि भेटघाट गर्ने वातावरण बनाउन केन्द्र स्थापना गरेर बुढेसकालको एक्लोपना हटाउने प्रयास गरिरहेका छ ।”

उक्त केन्द्रमा हार्मोनियम, मादललगायत सांस्कृतिक सामग्री सहयोग गरिएको उपमहानगर प्रमुख नरुलाल चौधरीले बताए । ज्येष्ठ नागरिकहरुसँग विभिन्न अनुभव र ज्ञान भएकाले उनीहरुको अनुभव र ज्ञान साटासाट गर्न÷गराउन तथा उनीहरुको स्वास्थ्यलाई दृष्टिगत गरेर दिउँसोको समय सदुपयोग गरिएको उनले बताए ।

ज्येष्ठ नागरिक स्वाथ्य कार्यक्रमअन्तर्गत केन्द्रबाटै प्रत्येक महिना निःशुल्क स्वास्थ्य सेवा दिने गरिएको प्रमुख चौधरीले जानकारी दिए । दिनभरि घरमा बस्दा विभिन्न स्वास्थ्य समस्या हुने भएकाले उनका लागि भेटघाट हुने थलो बनाइएको बताउँदै थोरै लगानीमा धेरै ज्येष्ठ नागरिकले खुसी हुने गरेको उनले उल्लेख गरे ।