टोखामा करेन्ट लागेर १ जनाको मृत्यु



काठमाडौं । टोखा नगरपालिका–६ धापासी हाइटमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । धापासी हाइटस्थित पिपलबोट चुनदेवी मन्दिर नजिकै घटना भएको हो ।

घटनामा काभ्रेको भुम्लु गाउँपालिका–३ घर भई बिजुलीको काम गर्ने २० वर्षीय नवीन पहारीको मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुला घर भई बिजुलीकै काम गर्दै आएका २५ वर्षीय अनिल धामी घाइते भएका छन् ।


पहारीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसो साढे ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते धामीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । करेन्टले उनको दुवै हात जलेको छ ।