गुनासो नआउनेगरी काम गरौँ : मन्त्री गुप्ता



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती कर्मचारीको सरुवा तथा व्यवस्थापनमा राजनीतिक हस्तक्षेपलगायतका कुनै प्रकारको गुनासो नआउने गरी कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै उनले निजामती सेवाको गरिमामा कुनै आँच नआउनेगरी कर्मचारी व्यवस्थापन गर्ने जिकिर गरे ।


राज्यकोतर्फबाट जनतालाई उपलब्ध गराउन पर्ने सेवासुविधा सहज र सरल रुपमा गराउन कर्मचारीलाई निर्देशन दिँदै मन्त्री गुप्ताले संघीय मामिला मन्त्रालय सबै स्थानीय तह र प्रदेश सरकारको सम्पर्क मन्त्रालय भएकाले सबै पक्षलाई मिलाएर लैजान हरप्रयत्न हुने धारणा राखे।

 उनले मन्त्रालय पुग्दा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलालगायतका कर्मचारीले स्वागत अभिवादन गरेका थिए ।

विसं २०२७ चैत २० गते पर्साको भोराटारमा–७ मा जन्म भई विसं २०४३ देखि राजनीतिमा प्रवेश गरेको मन्त्री गुप्ताले अनेरास्ववियु हुँदै एमालेको क्षेत्रीय अध्यक्ष भए। 

विसं २०७२ मा पार्टी जिल्ला कार्यसमिति र १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेका उनी विसं २०७० र विसं २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भए।