विश्व स्वास्थ्य संग्ठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन् ।
सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । वफा एलवानका पाँच वर्षीय छोरा आक्रमणबाट घर क्षतविक्षत बनेपछि टेन्टमा बस्न थालेको निकै महिना भइसक्यो । उनलाई दिनमा पनि रातमा पनि सुत्नलाई समस्या भइरहेको छ तर द्वन्द्वरत गाजाको ‘टेन्ट शहर’ मा एलवान र उनका सात बच्चाहरू आश्रय लिइरहेका छन् र उनीहरू सुत्न नसक्नुको कारण युद्धको बन्दुक होइन ।
बालकको पैताला र खुट्टाको माथिल्लो भागमा सेतो र रातो धब्बाहरू छन् । उसको टी–शर्ट मुनि यस्ता धेरै धब्बा छन् । उनी छालाको सङ्क्रमण, ठेउला, लुतो, घमौरा, जुकालगायत अन्य दुर्बल समस्याबाट पिडित धेरै गाजावासीहरूमध्ये एक हुन् ।
‘हामी भुइँमा सुत्छौ, बालुवामा सुत्छौँ, जहाँ कीराहरू बाहिर निस्कन्छन्,’ एलवानले भने । उनको परिवार मध्य गाजा शहर देइर अल–बलाहको नजिक समुद्रको नजिक बलौटे टुक्रामा बस्ने हजारौँ विस्थापितमध्ये एक हो ।
एलवानको विचारमा सङ्क्रमण अवश्यम्भावी छ । उनले भने, ‘हामी आफ्ना छोराछोरीलाई पहिलाजस्तो नुहाउन सक्दैनौँ । त्यहाँ हात, खुट्टा र शरीर धुन र सफा गर्नको लागि चाहिने कुनै उत्पादनहरू छैनन् । यहाँ केही पनि छैन ।’
आमाबाबुले आफ्ना छोराछोरीलाई भूमध्यसागरमा नुहाउन भन्थे । तर युद्धले आधारभूत सुविधाहरू ध्वस्त पार्दा उत्पन्न भएको प्रदूषणले रोगको जोखिम बढाएपछि समुद्रमा नुहाउने सम्भावना पनि छैन । सबै फोहोर र प्रदूषित बनेको छ ।
‘समुद्र सबै ढल हो । उनीहरूले फोहोर र बच्चाको दिसा सफा गरेका टालाहरू पनि समुद्रमा फ्याँक्छन्,’ उनले भने ।
विश्व स्वास्थ्य संगठनका अनुसार गाजामा युद्ध सुरु भएयता लुतो र जुकाका ९६ हजार ४१७, ठेउलाका नौ हजार २७४, छालामा विविध कारण भएका घाउ र त्यसमा भएका सङ्क्रमणको भयावह अवस्थासम्बन्धी ६० हजार १३० र ‘इम्पेटिगो’ का १० हजार ३८ घटना भेटिएका छन् ।
देइर अल–बलाह शिविरमा अस्थायी क्लिनिक सञ्चालन गर्ने फार्मासिस्ट सामी हमिदका अनुसार विशेष गरी तटीय प्यालेस्टिनी क्षेत्रमा लुतो र ठेउलाको माहामारी नै छ ।
क्लिनिकमा दुई जना केटाहरूले आफ्नो हात, खुट्टा, ढाड र पेटमा दर्जनौं ठेउलाका दाग र फोकाहरू र लुतो र यसले बनाएका घाउहरू देखाए ।