कोशीमा माओवादीका ४ मन्त्रीले बुझाए राजीनामा



विराटनगर। कोशीमा सहमतिको सरकार नबन्ने स्थिति भएपछि नेकपा माओवादी केन्द्रका मन्त्रीहरु राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन्।

शुक्रबार माओवादी केन्द्रका स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जामगर, भौतिक पूर्वाधार विकास मन्त्री गणेश प्रसाद उप्रेती र पर्यटन राज्य मन्त्री बन्दना झाँगडले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा बुझाएका हुन्।


हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काललाई जारी राख्दै माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन्। राजीनामा बुझेपछि मुख्यमन्त्री कार्कीले आगामी दिनमा सहकार्य हुने गरी मन्त्री तथा राज्यमन्त्रीहरुले गरेको कार्यका लागि धन्यवाद व्यक्त गरे।

सहमतिको सरकार नबन्ने स्थिति आएपछि र मुख्यमन्त्री कार्कीले मार्गप्रशस्त गर्न घुमाउरो भाषा प्रयोग गरेपछि सरकारबाट राजीनामा दिने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले बताए। करिब ७४ दिन माओवादी केन्द्र कोशी प्रदेश सरकारमा सहभागि भएको थियो।