कैलालीमा तीन लाख ८३ हजार पशु चौपायालाई लगाइयाे खोप



अत्तरिया (कैलाली)। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले तीन लाख ८३ हजार सात सय पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको छ।

विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका १३ वटै स्थानीय तहका भैँसी, राँगा,गाईगोरु,बाख्रालगायत पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको हो।


एक लाख ४१ हजार छ सय गाईगोरु र भैँसी र राँगालाई खोरेतविरुद्धको खोप तथा एक लाख ९६ हजार भेडाबाख्रालाई पिपिआर खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा.हेमराज अवस्थीले जानकारी दिए।

उनका अनुसार २१ हजार एक सय बङ्गुरलाई क्लासिकल स्वाइन फिवर,१० हजार गाईगोरुलाई लम्पी स्किनविरुद्धको खोप र १५ हजार स्थानीय जातका कुखुरालाई रानीखेत खोप लगाइएको छ।

आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४१ हजार खोरेतविरुद्धको खोप,एक लाख ७० हजार पिपिआर,२५ हजार क्लासिकल स्वाइन फिवर,२३ हजार लम्पीस्किनविरुद्धको खोप र एक लाख रानीखेत खोप लगाउने लक्ष्य छ।

‘हामीले पाँच लाख ५९ हजार पशुचौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाउने लक्ष्य राखेका थियौँ। तर लक्ष्यमा पुग्न सकिएन्’, उनले भने,‘खोपका लागि मौसम पनि उपयुक्त चाहिन्छ। किसानको समय पनि मिल्नुपर्छ। यी यावत् कारणले खोप लक्ष्यमा पुग्न नसकेको हो।’

खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभरि ६५ जना पशु प्राविधिक खटिएको प्रमुख डा.अवस्थीको भनाइ छ। आव २०७९/८० मा विज्ञकेन्द्रले जिल्लाका सबै स्थानीय तहका पाँच लाख ५३ हजार तीन सय ९१ पशु चौपायालाई विभिन्न रोगविरुद्धको खोप लगाएको थियो।