कमला ह्‌यारिस शासन गर्न योग्य छैनन् : ट्रम्प



वाशिङटन डीसी । अमेरिकामा आगामी राष्ट्रपतिको निर्वाचनमा डेमाेक्रेटिक पार्टीका तर्फबाट सम्भावित उम्मेदवार कमला ह्यारिस शासनका लागि योग्य नभएको रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भनेका छन् । रिपब्लिकन र डेमोक्रेट पार्टीका उम्मेदवारले एक अर्कालाई आरोप–प्रत्यारोप लगाइरहँदा ट्रम्पको यो अभिव्यक्ति आएको हो ।

ट्रम्पले बुधवार उपराष्ट्रपति ह्यारिसलाई शासन गर्न अयोग्य बताएका थिए । ट्रम्पले ह्यारिसलाई वामपन्थीलाई समर्थन गर्ने पागल समेत भनेका थिए । आइतबार ८१ वर्षीय वर्तमान राष्ट्रपति जो बाइडेनले अचानक आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी फिर्ता गर्ने घोषणा गर्दै भावी उम्मेदवारमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका थिए ।


ह्यारिस डेमोक्रेटिक पार्टीको सम्भावित उम्मेदवारका रूपमा देखिएकी छिन् । पार्टीले  बाइडेनको चुनावी अभियानको नाम फेरेर ह्यारिसको नाममा चुनावको प्रचार प्रसार गरिरहेको छ । अगष्टमा पार्टीको राष्ट्रिय महाधिवेशनले आधिकारिक रूपमा राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नेछ ।

बाइडेनले ह्यारिसलाई समर्थन गरेपछि पहिलो पटक चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले ह्यारिस माथि कडा हमला गरेका थिए । ‘साढे तीन वर्षदेखि झुट बोल्दै आएकी कमला ह्यारिस बाइडेनको हरेक गलत निर्णयमा पछाडि रहेकी छिन् । उनी वामपन्थीलाई समर्थन गर्ने कट्टरपन्थी हुन् । राष्ट्रपतिको कुर्सीमा बस्ने मौका मिल्यो भने उनले देशलाई ध्वस्त पार्नेछिन् । हामी यस्तो हुन दिने छैनौँ’ ट्रम्पले भनेका छन् ।

ह्यारिसले जे कुरा छोयो त्यो पूरै बर्बाद हुने आरोप

‘कमला ह्यारिस अमेरिकी इतिहासमा सबैभन्दा उदार निर्वाचित राजनीतिज्ञ हुन् । उनी अति–उदारवादी राजनीतिज्ञ हुन् । उनी भयानक छिन । उनी बर्नी स्यान्डर्स भन्दा बढी उदारवादी छिन् । उनी सत्तामा आइन् भने यो देशलाई छिट्टै ध्वस्त पार्नेछिन् । उनले सीमाको रक्षा गर्नु पर्ने थियो, तर उनी कहिल्यै सीमामा गइनन् ।’ 

अझै अगाडि ट्रम्पले भनेका छन् । ह्यारिसले जे कुरा छोयो त्यो पूरै बर्बाद हुने पनि उनले आरोप लगाएका छन् । आफ्नो भाषणमा ट्रम्पले ४५ पटक ह्यारिसको नाम लिएका थिए ।