कमला नदीमा फसेका तीन जनाको उद्धार



जनकपुर । धनुषाको कमला नदीमा बुधबार आएको बाढीमा फसेका तीन जनाकाे सकुशल उद्धार गरिएको छ । सबैला नगरपालिका–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुन्दर चौलागाईंले सोही ठाउँका १७ वर्षीय राजेश यादव, ४० वर्षीय नथुनी यादव र शिवराम साफीलाई कमला नदीको बीच भागबाट उद्धार गरिएको जानकारी दिए ।


आज बिहान दाउरा सङ्कलन गर्न गएको अवस्थामा एक्कासी बाढीको वहाब बढेपछि उनीहरू नदीमा फसेका थिए । 

सबैला नगरपालिकाबाट खटिएका नगर प्रहरी र सशस्त्र प्रहरी वेस क्याम्प रघुनाथपुरको सहयोगमा लाइफ ज्याकेट, ट्युब र डोरीको सहायताले उद्धार गरिएको प्रहरी निरीक्षक चौलागाईंले जानकारी दिए ।