ओलीमाथि खनिए प्रचण्ड : संसद् विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउने ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संसद् विघटनको बानी परेका भनेर कटाक्ष गरेका छन् । 

प्रतिनिधिसभा बैठकमा शुक्रबार विश्वासको मत लिनुअघि आफ्नो धारणा राख्दै उनले भावी प्रधानमन्त्री ओलीलाई संसद् विघटनमा बानी परेका नेताको संज्ञा दिएका हुन् ।  


‘आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूसमेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गरिरहनुभयो,’ प्रधानमन्त्रीले भने। 

उनले संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा बढी लगानी रहेको जिकिर गर्दै आफूले संविधानलाई कमजोर बनाउन नदिने पनि बताए । 

‘ती साथीहरूलाई म यत्ति भन्न चाहन्छु– कि यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ,’ प्रचण्डले भने, ‘त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन । कमजोर बनाउन पनि दिँदैन । दिने पनि छैन ।’