उपत्यकामा बाढी-पहिरो : नागार्जुनमा एक जनाको मृत्यु, बल्खुको सुकुम्बासी बस्तीमा बाढी पस्यो



काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिरोमा परेर गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए ।


पहिरो भने बिहान ११ बजेतिर खसेको थियो । काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोस्थित भित्रि बाटोमा रोडको छेउमा वर्षाका कारण करिब एक मिटर जति भासिएकाले सचेत हुन प्रहरीले अनुरोध गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ जितपुरफेदीस्थित श्रीमणी जमकटेलको पर्खालमा पहिरो जाँदा लोकनाथ जम्कट्टेलको जस्ताले बनेको एक तले घरमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन । उपत्यका प्रहरीका अनुसार अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाभित्र रहेका नदीका करिडोरस्थित सडकखण्डमा प्रहरीद्वारा गस्ती गरी नदीको सतहसम्बन्धी निगरानी गरिरहेको छ । 

हालसम्म खतरामुक्त नै रहेको जनाइएको छ । विपद् कार्यमा खोज तथा उद्धार कार्यका लागि प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । कार्यालयले नदीस्थित करिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । 

सुकुम्बासी बस्ती​ डुबानमा

अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरू डुबानमा परेका छन् । वर्षाका कारण काठमाडौँका विभिन्न नदी र खोलहरूमा जलस्तर बढेसँगै बल्खुको सुकुम्बासी बस्ती, त्यहाँको तरकारी बजारमा बाढी पसेको जिल्ला प्रहरी परिसरका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए ।

उनले भने, ‘बागमती, विष्णुमती, धोबिखोला, मनोहरा खोला तथा हनुमन्ते खोलामा जल सतह बढ्दा किनारमा केही रहेका टहरा डुबानमा परेका खबर आएका छन्, हाम्रो प्रहरी टोली उद्धारका लागि खटिएको छ ।’ यसैगरी बागमतीमा आएको बाढीका कारण करिडोर सडक जलमग्न भएको प्रहरीले जनाएको छ ।