उत्तरी म्यान्मामा बाढीका कारण झण्डै दुई हजार घरपरिवार विस्थापित



भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको सङ्केतभन्दा माथि बगेपछि उत्तरी म्यान्माको काचिन राज्यका झण्डै दुई हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको काचिन राज्य सरकारले सोमबार जनाएको छ ।

काचिन राज्य सरकारका एक सदस्यले भने, “उद्धार कार्य जारी छ । प्रभावित बासिन्दाहरूलाई यस क्षेत्रका ३० विद्यालय, चर्च र गुम्बाहरूमा अस्थायी आश्रयमा सारिएको छ ।”


स्थानीय सञ्चारमाध्यमका अनुसार भारी वर्षाका कारण माइट्काइना र वाइङ्माव सहरमा एक हजारभन्दा बढी मानिस फसेका छन् ।

मौसम तथा जल विज्ञान विभागले सोमबार दिएको जानकारीअनुसार मित्किना नगरपालिकाको अय्यारवाडी नदी खतराको सङ्केतभन्दा करिब पाँच फिट माथि बगेको छ ।

आगामी दुई दिनमा नदीको बहाव अझै दुई फिट बढ्ने र माइट्काइना टाउनसिपको खतराको सङ्केतभन्दा माथि रहने अनुमान गरिएको छ ।