‘इजरायली आक्रमण’मा हमासका प्रमुख नेता इस्माइल हानिया मारिए



इरानको राजधानी तेहरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएको हमासले जनाएको छ ।

बुधबार हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको घरमा इजरायलले आक्रमण गरेको र यस हमलामा हानियाको मृत्यु भएको बताएको छ ।


यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । यस विषयमा इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण समारोहमा सहभागी हुन तेहरान गएका थिए ।

हमासका एक वरिष्ठ अधिकारी मुसा अबु मारजोकले आक्रमणलाई कायरतापूर्ण कार्य भन्दै बदला लिन आह्वान गरेका छन् ।

हानिया कतारमा बसेका थिए । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन्।

आइआरजीसीले ‘घटना’ को कारण तुरुन्तै थाहा नभएको तर अनुसन्धान भइरहेको बताएको छ। इरानको सरकारी मिडियाले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ ।

अक्टोबर २०२३ मा, हमासले इजरायलमा आक्रमण गरेको थियो । यस आक्रमणमा इजरायलका करिब १२ सय मानिस मारिएका थिए । जवाफमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो, यस कारबाहीमा अहिलेसम्म ३८ हजारभन्दा बढी मानिस मारिएका छन् ।

अप्रिल २०२४ मा, इजरायलले एउटा गाडीमा तीनवटा मिसाइल प्रहार गरेको थियो। यस हमलामा इस्माइल हनियाका तीन छोरा, तीन नातिनातिना र एक चालक मारिएका थिए।

इस्माइल हानिया हमासको राजनीतिक ब्यूरोका प्रमुख थिए। उनी प्यालेस्टिनी प्राधिकरणको दशौं सरकारका प्रधानमन्त्री थिए।

हानियाको उपनाम अबु-अल-अब्द हो। उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो ।

इजरायलले सन् १९८९ मा हानियालाई तीन वर्ष जेलमा राखेको थियो । यसपछि उनलाई हमासका धेरै नेताहरूसँग मार्ज अल-जुहुरमा निर्वासन गरिएको थियो। यो इजरायल र लेबनान बीचको नो-म्यान ल्याण्ड हो। उनी त्यहाँ एक वर्ष बसे ।

आफ्नो निर्वासन सकिएपछि हानिया गाजा फर्किए । १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए। यसले उनको हैसियत बढायो ।

हमासले १६ फेब्रुअरी २००६ मा हानियालाई प्यालेस्टाइन प्राधिकरणको प्रधानमन्त्री मनोनयन गरेको थियो। उनी सोही वर्ष फेब्रुअरी २० मा नियुक्त भएका थिए । तर त्यसको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई आफ्नो पदबाट बर्खास्त गरेका थिए।

इज्ज अल-दिन अल-कसाम ब्रिगेडले गाजा पट्टी कब्जा गरेको कारण यो गरिएको थियो। उनले अब्बासको फतह आन्दोलनका प्रतिनिधिहरूलाई निष्कासन गरेका थिए। एक सातासम्म चलेको भिडन्तमा धेरै मानिस मारिए ।

हानियाले आफ्नो बर्खास्तीलाई असंवैधानिक भन्दै अस्वीकार गरे ।

उनले आफ्नो सरकारले आफ्नो कर्तव्यलाई निरन्तरता दिने र प्यालेस्टिनी जनताप्रतिको आफ्नो जिम्मेवारीलाई नछोड्ने बताए।

हानिया मे ६, २०१७ मा हमासको राजनीतिक ब्यूरोको प्रमुखमा निर्वाचित भएका थिए। अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा हानियालाई आतंकवादी घोषणा गरेको थियो ।