आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानमा प्रदर्शन



आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रदर्शन भएको छ । प्रान्तमा आतंकवादी आक्रमणका घटना बढ्न थालेको भन्दै स्वाबी शहरमा पश्तुन तहफुज मुभमेन्टले प्रदर्शन गरेको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार मुभमेन्टका नेता लियाकत युसुफजाईको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरुले आतंकवादका घटना न्यूनीकरण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।


पछिल्लो समय खैबर पख्तुनख्वा प्रान्तमा तहरिक ए तालिबान पाकिस्तानका गतिविधि बढ्दै गएको बताइन्छ । यसबाट सो क्षेत्रका नागरिकहरु त्रसित बनेको डनले जनाएको छ । सो क्षेत्रमा तालिबानका नाममा भित्तेलेखनका घटना पनि बढ्दै गएको बताइन्छ ।