राँझा (बाँके) । अल्पसङ्ख्यक महाउत समुदायका बालबालिका आर्थिक अभावमा विद्यालय जानबाट बञ्चित भएका छन्।
बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियामा मुख्यरुपमा बसोवास रहेको महाउत समुदायका बालबालिका विद्यालयमा भर्ना भए पनि नियमित रुपमा विद्यालय जाँदैनन्। विद्यालय उमेर समूहका अधिकांश बालबालिका मजदुरी गर्ने ठाउँमा भेटिन्छन्।
“गाउँमा धेरै पढेको कोही छैन, मैले तीन कक्षासम्म पढेर छोडिदिएँ”, विद्यालय उमेर समूहका नौकुश महाउतले भने, “स्कूल जान कापी किताव, झोला र पोशा चाहिन्छ, घरमा कसैले दिँदैन। त्यसैले अहिले मजदुरी गर्न थालेको छु।”
काशी महाउतका विद्यालय उमेर समूहका चार छोरा र एक छोरी छन्। तर हालसम्म कोही विद्यालय जाँदैनन्। साना बालबालिका बाख्रा, बङ्गुर चराउन जाने र अलि ठूलो उमेरका बालबालिका मजदुरी काममा जाने गरेको उनले बताए।
“पढेलेखेर के हुन्छ, कसैले केही काम पाएका छैनन् त्यही भएर हाम्रा छोरा छोरी स्कूल जाँदैनन्”, काशीले प्रतिप्रश्न गर्दै भने, “घरमा खान बस्नकै समस्या छ विद्यालय पठाउन कापी किताव, झोला र ड्रेस कहाँबाट ल्याइदिने ?”
वर्षौँदेखि मगान्ताटोलमा बसेका महाउत सबैजसोको घर फुसले बनेका छन्। यो समुदायका अधिकांश ज्याला मजदुरी गरेर जीविका चलाउँछन् । मगन्ता गाउँमा मात्रै यो समुदायका एकसय १२ घर छन् । समुदायबाट हालसम्म तीन जनाले मात्र एसईई पास गरेका छन्।
समुदायबाटै पहिलो पटक एसएलसी पास गर्नुभएका केलाराम महाउत कृषक समूह गठन गरेर खेतीपातीमा संलग्न हुनुहुन्छ। पढेलेखेर पनि बेरोजगार बस्नु पर्दा महाउन समुदायमा पढेर पनि केही नहुने गलत धारणाको विकास भएको उनको बुझाइ छ।
“बालबालिकालाई विद्यालय पठाउन सम्झाई बुझाई गर्दा पनि अभिभावक मान्दैनन्”, केलारामले भने, “जसोतसो विद्यालयमा भर्ना गराइदिए पनि नियमित नगएर बीचबाटै विद्यालय छोड्ने समस्या छ।”
महाउत समुदायबाट जनप्रतिनिधि बन्नुभएकी डुडुवा गाउँपालिका कार्यपालिका सदस्य जवन्ती महाउतले गरिबी र चेतनाको अभावमा महाउत समुदायले अझै पनि बालबालिकालाई विद्यालय पढाउनेमा चासो नदिएको उल्लेख गरे।
डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्वाला रेग्मीले गरिबी तथा आर्थिक अवस्था अभावका कारण महाउत समुदायका अधिकांश बालबालिका विद्यालय तहको पढाइ पूरा नगर्दै विद्यालय छाड्ने गरेको बताए।
विद्यालयमा भर्ना भएका महाउत समुदायका विद्यार्थीमध्ये करिब ९० प्रतिशत बढिले एसईई पास नगर्दै पढाइ छाड्ने गरेको उनले जानकारी दिए। महाउत समुदायबाट गतवर्षको एसइईमा एकजना विद्यार्थी सहभागी भएकोमा अहिले मौका परीक्षाको तयारीमा छन्। महाउत सुमदायका बालबालिकाको शिक्षा पहुँच बढाउनका लागि विद्यालयको तर्फबाट अनेक प्रयत्न गरे पनि सफल हुन नसकेको उनको भनाइ छ।
डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्रले महाउत समुदायका बालबालिकालाई शिक्षामा विशेष किसिमको व्यवस्था नभएको बताए। अल्पसङ्ख्याक र सीमान्तकृत समुदाय भएपनि सूचिकृत भइनसकेकोले यो समुदायले कुनै विशेष सुविधा पाउन नसकेको उनको भनाइ छ।
खेती गर्नका लागि आफ्नै जग्गा जमिन, रोजगारीका लागि सीप र व्यापार–व्यवसायका लागि पुँजी नभएका कारण महाउत समुदायमा अधिकांश परिवार साँझ के खाउँ, बिहान के खाउँ भन्ने समस्या खेप्न विवश छन्।
महाउत समुदायको पुख्र्यौली पेशा तथा काम भनेको मागेर खाने हो। मगन्ताका नाममा परिचित यो समुदायले अहिले आफुलाई परिवर्तन गर्दै महाउत बनाउनुका साथै माग्ने काम पनि अधिकांशले छोडेको वडाध्यक्ष मिश्रले बताए।