अर्जुन लामा हत्या प्रकरणः अग्नि सापकोटाविरुद्धको मुद्दामा साउन २३ गते निर्णय सुनाइने



काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध रिटमा आगामी साउन २३ गते निर्णय सुनाइने भएको छ । उक्त रिट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर निर्णय सुनाउने मिति तय भएको थियो । यसअघि निर्णय सुनाउनका लागि मिति तय भएर पनि स्थगित भएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ भएको थियो । सो रिट संवैधानिक इजलासको सबैभन्दा पुरानो मुद्दा हो ।


काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको दाबीसहित तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रहेका लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । त्यसबेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा, रहेकाले हत्यामा उनीहरुको संलग्नता रहेको पीडित परिवारको दाबी छ ।