६ वर्षपछि बन्यो वडा कार्यालय भवन



मुग्लिन (चितवन) । शिलान्यास भएको झण्डै ६ वर्षपछि चितवनको इच्छाकामना गाउँपालिका–६ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । विसं २०७५ भदौमा सो भवनको शिलान्यास गरिएको हो ।

एक करोडभन्दा बढीको लागतमा निर्माण गरिएको उक्त वडा कार्यालय भवनको आइतबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उद्घाटन गरे । भवन निर्माणको काम ६ वर्षअघि थाले पनि जग्गाको स्वामित्वबारे बिबाद हुँदा निर्माणमा ढिलाइ भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । जग्गा स्वामित्वको कानुनी प्रक्रिया हल गरी भवन निर्माण गरिएको उनको भनाइ छ ।


“भवन निर्माण गरेर कार्यालय सञ्चालनमा आएको छ’’, अध्यक्ष गुरुङले भने । उद्घाटन कार्यक्रममा जग्गादाता र पूर्व वडाध्यक्ष भूपेन्द्र चेपाङलाई सम्मान गरिएको थियो ।