सहकारी ठगीको अभियोगमा सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता



नवलपरासी । सहकारी ठगीमा मुछिएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय नवलपुर पूर्वले आइतबार जिल्ला अदालतमा ३५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोेक्ता सहकारी संस्था लिमिटेडमा भएको बचतकर्ताको रकम अपचलनमा सांसद बस्नेत समेत मुछिएकी थिइन् ।


उनलाई फरार सूचीमा राखेर मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले जानकारी दिए । उनीसहित अध्यक्ष गोपिकृष्ण शर्माविरुद्धसमेत मुद्दा दायर भएको छ ।

३५ जना प्रतिवादी मध्ये १० जनालाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानका क्रममा सहकारीका दुई हजार तीन सय ९३ जना बचतकर्ताको १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ अपचलन भएको देखाएको छ । अभियोजनमा सांसद बस्नेतले सञ्चालन गरेको कृष्णसार रिसोर्टमा ९६ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख गरिएको छ ।