जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाएर सरकारले देशको अन्तर्राष्ट्रिय स्तरमा छवि बिगारेको टिप्पणी गरेका छन् ।
जसपाको पार्टी महाधिवेशन तयारीबारे जानकारी गराउन जनकपुरधाममा प्रेसमंच नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयको आपत्तिजनक रहेको भन्दै विरोध गरे ।
‘कतिपय मुलुकमा हाम्रो देशको लागि लाजमर्दो अवस्था छ । भोलि भारतको प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा निम्तो पाएर प्रधानमन्त्री जाने र राजदूतलाई एक दिन अगाडि फिर्ता बोलाउने ! यो भनेको अत्यन्तै गलत हर्कत हो । देशलाइ नै बेइज्जत गराउने काम सरकारले गरेको छ । ’अध्यक्ष यादवले भने, ‘राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कूटनीतिक मर्यादाविपरीत रहेको छ । देशको अन्तर्राष्ट्रिय छवि बिगार्ने कामभएको छ । यो गलत हो । हाम्रो पार्टी यसको विरोध गर्छ ।’
यस्तै अर्को प्रसङ्गमा पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले सरकारले ल्याएको बजेट आग्रह पूर्वाग्रहबाट प्रेरित रहेको आरोप लगाएका छन ।
उनले सरकारको यो बजेट मधेसप्रति पूर्वाग्रही रहेको बताए । सरकारको यो बजेटले सरकार मधेस र मधेसीको विकासलाई आफ्नो विकास नमान्ने गरेको आरोप लगाए ।