रूसी अधिकारीहरूले क्रेमलिन र युक्रेनमा यसको आक्रमणको विरोध गर्ने बालबालिका र उनीहरूका परिवारलाई सजाय स्वरूप दमन गरिरहेको शुक्रबार एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।
रूसी नेता भ्लादिमिर पुटिनले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना पठाएपछि अधिकारीहरूले असहमतहरुमाथिको दमनलाई तीव्र पारेका छन् । उनीहरूले बालबालिकालाई आमाबाबुमा दबाब दिन प्रयोग गर्ने, आमाबुबाबाट बालबालिकाहरु अलग गरेर अभिभावकको अधिकारको हनन गर्ने जस्ता धम्की दिने कार्य गरेका अधिकार समूहले बताएका छन् ।
एम्नेस्टीका अनुसार केही आमाबाबु बालबालिकाबाट अलग हुने भएका कारण आफ्ना बच्चाहरूसहित रुसबाट भाग्नुपरेको थियो । “राजनीतिक रूपले प्रेरित यो आक्रमणमा बालबालिका, विद्यालय र शिक्षकहरू उत्पीडन र मनमानीको हतियार बनेका छन्,” एम्नेस्टीको रूसी अनुसन्धानकर्ता ओलेग कोज्लोव्स्कीले भने ।
सन् २०२२ अक्टोबरमा ह्वाट्सएप प्रोफाइलमा युक्रेन समर्थित रेखाचित्रको तस्बिर देखेपछि मस्को प्रहरीले दश वर्षीया वरुवारा गाल्किनालाई सोधपुछ गरेको थियो । प्रहरीले उहाँकी आमा एलेना जोलिकोयरलाई धम्की दिनुका साथै घरमा खोजतलास गरेको थियो । झुठ्ठो आपराधिक अभियोजनको डरले जोलिकोयर र दुई छोरीहरू देश छोडेर भाग्न बाध्य भएका थिए । “मेरा छोरीहरू सरकारसँग सहमत छन् वा युद्धलाई समर्थन गर्छन् भन्ने ढोंग गरेर दोहोरो जीवन बिताउन् भन्ने मैले चाहिन“, उनले एमनेष्टीसँग बताए ।
सन् २०२३ नोभेम्बरमा सेन्ट पिटर्सबर्गका सोह्र वर्षका येगोर बालाजेकिनलाई दुई सैन्य भर्ती केन्द्रहरूमा डिजेल ईन्धन र सेतो ‘स्पिरिट’को बोत फ्याँकेको आरोपमा सैन्य अदालतले छ वर्षको जेल सजाय सुनाएको थियो । “उनका कार्यहरूले कुनै क्षति गरेन तर पनि उक्त घटनालाई आतङ्कवादी आक्रमणको रूपमा सङ्केत गरिएको थियो,” एम्नेस्टीले थप जानकारी दिँदै भन्यो ।
कुनै पनि मामिलामा त्यहाँका बाल अधिकार आयुक्तहरूले बालबालिकाको राजनीतिक रूपमा प्रेरित उत्पीडनलाई चुनौती दिन वा उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई सम्मान गर्न वकालत नगरेको एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ । रूसले युक्रेनमा आक्रमण गरेपछि अधिकारीहरूले प्राथमिक र माध्यमिक विद्यालयहरूमा देशभक्तिको कक्षा सञ्चालन सुरु गरेका थिए ।
एमनेष्टीका अनुसार देशभक्तिको कक्षामा छ र सात वर्षका केटाकेटीहरूलाई क्रिमियाको युक्रेनी ‘व्ल्याक सी’ प्रायद्वीप विस्तारको १० औँ वार्षिकोत्सवसँग सम्बन्धित आनन्द र उत्सवको भावनालाई समर्थन गर्ने कक्षा सञ्चालन गर्न शिक्षकहरूलाई आदेश दिइएको थियो । “रूसको यो नकारात्मक संसारमा, सरकारसँग असहमत बालबालिकालाई प्रहरी, अदालत र विद्यालयसँग पनि खतरा छ,” कोज्लोव्स्कीले भने ।