मोदीले जुन ८ मा प्रधानमन्त्रीको सपथ लिने



एजेन्सी ।  प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ८ (शनिबार) मा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

प्रधानमन्त्री मोदीको दिल्लीस्थित निवासमा बुधबार बसेको भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकमा मोदीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा सहमति भएको छ ।


बैठकमा जनता दल (युनाइटेड) प्रमुख नीतीशकुमार र तेलुगु देशम पार्टी (टीडीपी) प्रमुख एन चन्द्रबाबु नायडूको सहभागितालाई महत्त्वपूर्ण कदम मानिएको छ । भाजपालाई सरकार बनाउन उनीहरूको दलको समर्थन महत्त्वपूर्ण छ ।

यसपटकको लोकसभा निर्वाचनमा भाजपा बहुमतको आँकडा दुई सय ७२ भन्दा ३२ सिटले पछि परेको छ र सरकार बनाउन उसले आफ्ना सहयोगीमा निर्भर रहनुपर्नेछ ।

भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले दुई सय ४० सिट र काङ्ग्रेसले ९९ सिट जितेका छन् ।

भाजपाले सन् २०१९ को आम चुनावमा तीन सय तीन र सन् २०१४ को आम चुनावमा दुई सय ८२ सिट जितेको थियो ।

यसैबीच केन्द्रीय मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति द्रौपदी मुर्मूले बुधबार १७ औँ लोकसभा विघटन गरेकी छन् ।

यसअघि प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिपरिषद्सहितको राजीनामा राष्ट्रपति मुर्मूलाई बुझाएका थिए ।

राष्ट्रपतिले राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री र उनको मन्त्रिपरिषद्लाई निरन्तरता दिन आग्रह गरेकी छन् ।

त्यस्तै विपक्षी गठबन्धन इन्डिया ब्लकको बैठक बुधबार साँझ दिल्लीमा बोलाइएको छ । काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले चुनावी नतिजा र त्यसपछिको रणनीतिबारे छलफल गर्न गठबन्धनका नेताहरूको बैठक बस्ने बताए ।