मधेशका नवनियुक्त मुख्यमन्त्री सिंहले लिए शपथ



काठमाडौं । मधेश प्रदेशका तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका शतीसकुमार सिंहले पद तथा गोपनियताको शपथ लिएका छन् ।

उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनियताको शपथ दिलाएकी हुन् । उनी आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


जनमत पार्टीका सांसद सिंहले आज बिहान जनमतसँगै, एमाले, माओवादी, नेकपा एस, नाउपा र नेपाल संघीय समाजवादीका गरि कूल ५६ जना सांसदले समर्थन गरेका छन् ।

यसैबीच मुख्यमन्त्री सिंहले शपथ लिएसँगै ११ जना मन्त्री पनि नियुक्त भएका छन् । सरकारमा सहभागी हुने ६ दलहरूमध्ये एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्रीसहित २, एकीकृत समाजवादीलाई २ तथा नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादीलाई एकरएक मन्त्रालय भागबन्डामा परेको थियो ।

एमालेबाट दलका नेता समेत रहेका सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री, प्रमोद जैसवाल शिक्षा तथा समाज कल्याण मन्त्री, राजकुमार लेखी युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । त्यस्तै शारदा थापा राज्यमन्त्री भएकी छन् । एमालेबाट पुनः पुरानै अनुहार मन्त्रीको मौका पाएका हुन् ।

यस्तै माओवादीबाट संसदीय दलका नेता भरत साह अर्थ मन्त्री र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बनेका छन् । अघिल्लो सरकारमा साह विनाविभागिय मन्त्री थिए । भट्टराई पुनः पर्यटन मन्त्रीमा दोहोरिएका छन् ।

नेकपा एस संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली उर्जा, सिंचाई तथा खानेपानी मन्त्री बनेका छन् । अघिल्लो सरकारमा न्यौपाने र लुंगेली नै मन्त्री बनेकी थिइन् ।

नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिला चौधरी श्रम तथा रोजगार र नेपाल संघीय समाजवादी पार्टीकी पनि एक्ली सांसद विमला अन्सारी गृह तथा सञ्चार मन्त्रीमा नियुक्त भएकी छन् । उनीहरुको पनि आजै शपथ हुनेछ ।