भारतमा उष्ण लहर अझै बढ्ने खतरा



भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर (लु) का कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै मौसमविद्हरूले अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन् ।

भारतीय मौसमविद्ले सोमबार नागरिकले अझै केही दिन बढ्दो तापक्रमको सामना गर्नुपर्ने बताएका छन् ।


उत्तरी भारतका केही भागमा मानिसहरू मे महिनाको मध्यदेखि नै गर्मीको चपेटामा परेको र पछिल्ला केही दिनमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

लगातार २४ दिनसम्म अनुभव गरिएकाले यो सबैभन्दा लामो ‘लु’ लागेको भारतको मौसम विज्ञान विभाग (आइएमडी) का प्रमुख मृत्युञ्जय महापात्रले दैनिक इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा उल्लेख गरेका छन् ।

यस महिना वार्षिक मनसुन वर्षा उत्तरतिर सर्दै जाँदा विस्तारै गर्मी घट्ने अपेक्षा गरिएको छ । यद्दपी महापात्रले गर्मीको कारण अझ जटिल मौसमी अवस्था आउनसक्ने चेतावनी दिए ।

यदि सावधानी वा रोकथामका उपायहरू अपनाइएन भने उष्ण लहरहरू बढी बारम्बार, लामो र कडा हुने उनले बताए ।

भारत विश्वको तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हो तर सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध छ । अहिले भने भारत विद्युत उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ ।

मानव गतिविधि, बढ्दो जनसङ्ख्या, औद्योगीकरण र यातायात संयन्त्रले कार्बन मोनोअक्साइड, मिथेन र क्लोरोकार्बनको एकाग्रता बढाइरहेको महापात्रले उल्लेख गरे ।

हामीले आफूलाई मात्र होइन, हाम्रो भावी पुस्तालाई पनि खतरामा पार्दैछौँ । वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनले उष्ण लहरहरू लामो, अधिक बारम्बार र अधिक तीव्र हुँदै गएको देखाउँछ ।

पछिल्लो गर्मीको लहरले नयाँदिल्लीको तापक्रम सन् २०२२ को ४९.२ डिग्री सेल्सियसको उच्च रेकर्डमा पुगेको छ ।

तापक्रम वृद्धिसँगै देशबासीले गर्मीबाट राहत खोज्दा बिद्युत ग्रिडमा आठ हजार ३०२ मेगावाटको उच्च रेकर्डको माग पुगेको छ ।

मे २९ मा, दिल्लीको उपनगर मुङ्गेशपुरको एक स्वचालित मौसम स्टेसनले ५२.९ डिग्री सेल्सियसको उच्च तापक्रम रेकर्ड गरेको खबर पत्रपत्रिकामा आएको थियो तर सरकारी अधिकारीले उक्त तापक्रम सेन्सरको त्रुटिपूर्ण परिणाम भएको जनाएको थियो ।

दिल्लीका अन्य ठाउँका १७ अन्य सहरका स्टेसनहरूले सोही दिन अधिकतम ४९ डिग्री सेल्सियस तापक्रम मापन गरेका थिए ।