बोरिङको पानी पिउन घण्टौँ कुर्छन् स्थानीयवासी



कर्णाली। वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत माझगाउँ बस्ती पानीले काकाकुल छ। स्थानीयको घरमा इनार छ तर पानी छैन। रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरुको दैनिकी बनेको छ।

पानीको हाहाकार भइरहेका बेला वीरेन्द्रनगर नगरपालिका–३, माझगाउँस्थित विश्वासी मण्डली नामक चर्चले बोरिङ गरेर पानी वितरण गरेपछि स्थानीयले राहत पाएका छन्। माझगाउँ टोल विकास समितिले भने बोरिङबाट पानी निकाल्न एक सय दुई मिटर खन्दासमेत पानी भेटिएन।


मण्डलीले ४० मिटर गहिराइबाटै पानी निकालेको छ। पानीको हाहाकारका बेला चर्चले ठूलो राहत प्रदान गरेको सोही टोलकी स्थानीय भगवतीकुमारी थापाले बताइन्। ‘पानी अभावले व्याकुल बनेको यो बस्तीका लागि चर्च सहयोगी बनेको छ’, थापाले भनिन्, ‘इनारको कालो र रातो पानी खानुपर्थ्यो। करिब दुई महिनादेखि सफा पानी खाँदै आएका छौँ। खाने, नुहाउने, लुगाधुने, शौचालय जाने, भान्सामा प्रयोगलगायत सबैमा यसले सुविधा दिएको छ।’

उनका अनुसार चर्चमा पानी लिन बिहान ४ देखि राति १२ बजेसम्म स्थानीय लाममा बस्छन् । लाममा बस्नेले दुईदेखि तीन घण्टा कुर्नुपर्छ। स्थानीय धनबहादुर खत्रीले भान्सादेखि शौचालयसम्म बोरिङ्कै पानीले धानेको बताए। ‘यसअघि मान्छेहरु कसरी बाँच्या थिए थाहा छैन । अहिले प्यास मेटाउने मात्र होइन, हाम्रो सम्पूर्ण आवश्यकता यसले पुरा गरेको छ,’ उनले भने। वडा नं. ३ देखि ४ सम्मका एक हजार भन्दा बढी घरधुरीले चर्चकै खानेपानीको सुविधा लिएको खत्रीले जानकारी दिए।

कालिकोट शुभकालिका गाउँपालिका दुई भर्ता घर भई हाल उक्त टोलमा बस्दै आएकी रुपा विश्वकर्माले सहरको कहर बल्ल थाहा पाएको बताइन्। उनले भनिन्, ‘म घरभाडामा बसेर बालबच्चा पढाईरहेकी छु। सबै सुविधा छ भनेर सहर पसियो यहाँ त कहर मात्र खेप्नुपर्दो रहेछ।’

माझगाउँ टोल विकास समितिका अध्यक्ष तिलाचन्द्र अधिकारीले खानेपानी समस्या समाधान गर्न सरकारले नसकेको बताए। ‘पानी, जिन्दगानी हो। प्रदेश राजधानीको नगरपालिका भन्ने मात्र छ। खानेपानी, विद्युत, सडकको समस्या दुर्गम भन्दा कम छैन’, उनले भने, ‘सुक्खायाममा बालबच्चालाई पानी खुवाउन र वर्षामा आवतजावत गर्नसमेत समस्या छ।’ ती समस्याका विषय वडा हुँदै नगरपालिकासम्म राखे पनि कुनै सुनुवाई नभएको उनले गुनासो गरे।