फोहरमैला व्यवस्थापनामा गम्भीर समस्या छ: मन्त्री जोशी



काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले फोहरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताएका छन्।

विश्व वातावरण दिवसका अवसरमा क्रिएसन नेपालले आज यहाँ आयोजना गरेको दुईदिवसीय सम्मेलनको उद्घाटनमा मन्त्री जोशीले दुई दिनसम्म चल्ने सम्मेलनबाट फोहरमैला व्यवस्थापनका लागि कस्तो नीति नियम बनाउँदा उचित हुने सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास व्यक्त गरे। उनले भने, ‘फोहरको मूल थलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्नसके व्यवस्थापनमा समस्या हुँदैन।’


त्यस्तै आयोजक संस्थाकोतर्फबाट क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले फोहरमैला व्यवस्थापनको विषय हामी सबैको सरोकारको विषय भएको बताउँदै छलफलले मात्र नभई ठोस कार्यान्वयनतर्फ अगाडि बढ्नुपर्ने बताए। उनले वातावरण संरक्षण र फोहरमैला व्यवस्थापनका लागि साझा दृष्टिकोण जरुरी रहेको बताए। उनले भने, ‘सबैको सामूहिक प्रयास भएमात्र फोहरमैला व्यवस्थापनविरुद्ध काम गर्न सजिलो र प्रभावकारी हुन्छ।’

सो अवसरमा क्रिएसन नेपालद्वारा दुई महत्वपूर्ण छलफल सत्रको आयोजना गरिएको थियो। फोहमैला व्यवस्थपनमा द्विपक्षीय र बुहपक्षीय एजेन्सीबाट लगानी विषयमा आयोजित पहिलो सत्रमा विश्व बैंकलगायतका प्रतिनिधिले फोहरमैला व्यवस्थापन क्षेत्रमा लगानीका बारेमा प्रकाश पारेका थिए। छलफलमा सहभागी विज्ञले फोहरमैला क्षेत्रमा काम गर्न धेरै बाँकी रहेको औँल्याउँदै नीतिगतरुपमा आवश्यक सुधारको खाँचो रहेको सामूहिक विचार व्यक्त गरेका थिए। पहिलो सत्रमा विश्वबैंक, इसिमोड र एफएचआई तीन सय ६० का प्रतिनिधिले छलफल सत्रमा भाग लिएका थिए। त्यस्तै दोस्रो सत्रमा सञ्चार जगत्ले फोहरमैला व्यवस्थापनको विषयलाई कसरी उठान गरिरहेका छन् भन्ने विषयमा छलफल भएको थियो।

स्वमान, सिन र क्रिएसन नेपालको संयुक्त आयोजना भएको कार्यक्रम उद्घाटन सत्रको अध्यक्षता गरेका पूर्वमन्त्री गणेश साहले सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए। सो अवसरमा विभिन्न उत्पादनको स्थलमा प्रदर्शनी गरिएको थियो। राष्ट्रिय सम्मेलन र प्रदर्शनी बिहीबारसम्म चल्ने छ।