सुन्दरबजार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राज्यका हरेक क्रियाकलापमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले सरकारले सहयोग गर्दै आएको बताएका छन्।
आज नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पछिल्लो प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि लोक कल्याणकारी विज्ञापनको रकम र पत्रकारका लागि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम सुरु गरिएको बताए ।
यसअघि आफ्नो नेतृत्वमा रहेको सरकारले पत्रकारको क्षमता अभिवृद्धिका लागि लेखन वृत्तिलगायत कार्यक्रम कार्यान्वयन गरेको पनि उनले बताए ।
‘देशमा हुने हरेक परिवर्तनमा पत्रकारको महत्त्वपूर्ण भूमिका छ । पछिल्लो परिवर्तनलाई संस्थागत गर्न यहाँहरूबाट सकारात्मक सहयोगको आवश्यकता छ । त्यसैले अझै निर्भीकताका साथ कलम चलाउन आग्रह गर्दछु’, मुख्यमन्त्री पाण्डेले भने,’सबै जिल्लामा महासङ्घको भवन बनाउनुपर्छ भन्ने महासङ्घको अभियानमा प्रदेश सरकारको साथ र समर्थन छ । त्यसबाहेक पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ ।’
बेसीसहर नगरपालिका वडा नं ३ मा निर्मित महासङ्घ लमजुङ शाखाको भवनका लागि गण्डकी प्रदेश सरकारले रु ३५ लाख सहयोग गरेको थियो । गोरखा, लमजुङ र तनहुँमा महासङ्घको भवन बनाउन प्रदेश सरकारले सहयोग गरेको थियो भने बाँकी जिल्लामा पनि सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले प्रतिबद्धता व्यक्त गरे ।