न्यूनबजेट विनियोजन हुँदा माग भएका सबै योजना समेट्न सकिएन: उपप्रधानमन्त्री  महासेठ



काठमाडौं। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले न्यून बजेट विनियोजनले गर्दा माग भएका सबै योजनालाई समेट्न नसकिएको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको वैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले सडक निर्माणतर्फ बजेटमा रु एक खर्ब १५ अर्ब २२ करोड विनियोजन गरिएको उल्लेख गरे। त्यसमध्ये रु ५४ अर्ब ९२ करोड वैदेशिक ऋण र अनुदान तथा रु ६० अर्ब ३० करोड नेपाल सरकार र वैदेशिक काउन्टर पार्टबाट स्रोत जुटाइने जानकारी गराए।


कर्णालीको विकासका लागि सरकार संवेदनशील बताउँदै उनले महाकाली करिडोर निर्माणका लागि सरकार आवश्यक बजेट विनियोजन गरेको बताए। उनले न्यून बजेट विनियोजनले गर्दा प्राथमिकीकरण चुनौतीपूर्ण भएको अवस्थामा समेत प्राप्त सीमित आर्थिक स्रोतलाई परिचालन गरी योजनामा बजेट छुट्याएको बताए।