झापामा कृषि प्रवर्द्धनका लागि प्रदेश सरकारको १० करोड ५३ लाख अनुदान



बनियानी । झापामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले १० करोड ५३ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ । जिल्लामा सञ्चालित कृषिका प्रवर्द्धनात्मक कार्यक्रमबाट प्रतिफल पनि प्राप्त भएको छ ।

चालु आवमा जिल्लामा कृषि प्रवर्द्धनका लागि कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यहाँका १४ वटा स्थानीय तहलाई ९ करोड ५ लाख र कृषि ज्ञान केन्द्रमार्फत १ करोड ४८ लाख रुपैयाँ उपलब्ध प्रदान गरेको जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए ।


कोशी प्रदेश सरकारले स्थानीय तहलाई उपलब्ध गराएको ससर्त अनुदानमा कृषि बजार निर्माण र सिँचाइलाई बढी प्राथमिकता दिएको छ । जिल्लाका ६ पालिकाका १२ स्थानमा कृषि बजार निर्माण तथा पूर्वाधार विकासका लागि ३ करोड ४० लाख, ११ वटा पालिकामा सिँचाइ विस्तारका लागि ३ करोड रुपैयाँ ससर्त अनुदान दिएको प्रमुख विष्टले बताए ।

जिल्लाका तीनवटा पालिकामा कृषि यान्त्रिकीकरणका लागि ५५ लाख, गह्रा सुधार तथा चक्लाबन्दी खेतीका लागि ४० लाख, तोरी खेती तथा मौरीपालनका प्रवर्द्धन र तोरी प्रशोधन उपकरण खरिदका लागि रु ६० लाख उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ ।

नमूना कष्टम हाउसिङ सेन्टर स्थापनाका लागि ६० लाख, प्रांगारिक मल उत्पादन पूर्वाधार निर्माण गर्न ३० लाख र तरकारी संकलन केन्द्र निर्माण गर्न २० लाख रुपैयाँ स्थानीय तहलाई ससर्त अनुदान उपलब्ध गराएको छ । कोशी प्रदेश सरकारले ज्ञान केन्द्रमार्फत जिल्लामा युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिएको छ । युवा लक्षित तरकारी, च्याउ, मह उत्पादन कार्यक्रमअन्तर्गत ३९ जना युवालाई रु एक(एक लाख अनुदान दिएको छ ।

यसैगरी, सुपारी प्रशोधन उद्योग पूर्वाधार यन्त्र उपकरण सहयोगअन्तर्गत सातवटा उद्योगलाई ४० लाख, जैविक विषादी उत्पादनका लागि एउटा कृषि सहकारी र फार्मलाई ७५–७५ हजार, जुटखेती प्रवर्द्धनका लागि ६ जना किसानलाई पाँच लाख, गड्यौँला मल तथा प्राङ्गारिक मल उत्पादनका लागि पाँच लाख, मागमा आधारित कार्यक्रमका लागि १२ लाख ५० हजार र केराखेतीका लागि ढुवानी साधनमा सहयोगका लागि १५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको ज्ञान केन्द्रले जनाएको छ ।

कृषि प्रवर्द्धन कार्यक्रमले जिल्लामा मकै र धान उत्पादन बढेको बढेको छ । मकै उत्पादकत्व पाँच मेट्रिकटन प्रतिहेक्टरबाट वृद्धि भई सात मेट्रिकटन पुगेको तथा धानको चार दशमलव पाँचबाट वृद्धि भएर पाँच दशमलव पाँच मेट्रिकटन प्रतिहेक्टर पुगेको ज्ञान केन्द्रका निमित्त प्रमुख विष्टले बताए ।