जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का



सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यक रहेको बताएका छन्।

नेपाली कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले पार्टीको चुनाव चिन्ह लिएर निर्वाचित भएका तीनै तहका जनप्रतिनिधि पार्टी र आफूलाई चुनाव जिताउने आम कार्यकर्ता र मतदाताप्रति उत्तरदायी नहुँदा समस्या आएको धारणासमेत राखे।


‘पार्टी विधानमै निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबीच महिनामा एक पटक बैठक बस्ने र पार्टी र जनताको निर्देशनअनुसार जनप्रतिनिधि प्रस्तुत हुने भन्नेछ,’ उनले भने।

उनले प्रतिकुल अवस्थामा कांग्रेसलाई बचाएर राखेका पार्टी कार्यकर्तालाई सुध्रिन जरुरी रहेको बताए। उनले अहिले मुलुकमा अप्ठ्यारो परिस्थिति सृजना भएको भन्दै उक्त परिस्थितिबाट देशलाई निकास दिन कांग्रेस अगाडि बढ्न आवश्यक रहेको  धारणा राखे।

उपसभापति खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत दस्तावेजहरूमा महासमिति सदस्यहरूले दिएका सुझावलाई दस्तावेजीकरण गर्ने तयारी भइरहेको बताउँदै चाँडै बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने बताए।

‘उपसभापति, महामन्त्रीलगायतले महासमिति बैठकमा प्रस्तुत गरेका दस्तावेजमा आएका सुझावलाई समेटेर अब बस्ने केन्द्रीय समिति बैठकले पारित गर्छ,’ उपसभापति खड्काले भने, ‘त्यसपछि अहिले देखिएको पार्टीको नीति, विधि, परराष्ट्र नीति, आर्थिक नीतिलगायत मुलुकको समसामयिक राजनीति विषयमा पार्टीको नीति स्पष्ट हुन्छ।’

उपसभापति खड्काले कांग्रेस मिसन–२०८४ तर्फ केन्द्रित नरहेकोसमेत उल्लेख गरे। उनले कांग्रेस अहिले मिसन–२०८१ मै रहेको बताए। ‘देशको समृद्धि र विकास कांग्रेसको मूल मिसन हो, त्यही भएर २०८१, २०८२ र २०८३ मा देश विकासका लागि के गर्ने, पार्टीलाई आम जनतासम्म कसरी पुर्‍याउने भन्नेमा हामी छौँ,’ उनले भने, ‘यति गरेपछि २०८४ मा कांग्रेस एक्लै चुनाव लडेर तीनै तहमा बहुमत ल्याउँछ।’

पेट्रोलियम अन्वेषणस्थलको अनुगमन

उपसभापति खड्काले आजै दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा भइरहेको पेट्रोलियम अन्वेषणस्थलको आज अनुगमन गरेका थिए। चीन सरकारको लगानीमा भइरहेको अन्वेषणको प्रगतिका विषयमा खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट प्रकाश लुइँटेलले उपसभापति खड्कालाई जानकारी गराएका थिए।

लुइँटेलले चार हजार मिटरमध्ये हालसम्म २९६ मिटर ड्रिल सकिएको जानकारी दिए। उनले अहिलेनै जमिनमुनि पेट्रोलियम पदार्थ कति छ भनेर भन्न नसकिने बताएका थिए।

पेट्रोलिय पदार्थ अन्वेषणका लागि सन् २०२५ फेब्रुअरीसम्म म्याद थप गरिएको छ। चिनियाँ टोलीले सुरुमा दैलेखका विभिन्न २५ स्थानमा ड्रिलिङको काम गरेको थियो। त्यसपछि हालको जलजले क्षेत्रमा पेट्रोलियम भण्डारण रहेको अनुमानसहित काम सुरु गरिएको हो।

सो क्रममा उपसभापति खड्काले पेट्रोलियम पदार्थ अन्वेषणमा तीन वटै तहका सरकारको साथ र सहयोग रहेको बताएका थिए। उनले अन्वेषणको हालसम्मको काम सन्तोषजनक रहेको बताउँदै तोकिएकै समयमा ड्रिलिङको काम पूरा गर्न आग्रह गरे।