चोयु हिमालमा व्यावसायिक आरोहण सुरु



काठमाडौँ । आरोहणका हिसाबले निकै कठिन मानिएको चोयु हिमाल (८१८८ मिटर) मा नेपालतर्फबाट पहिलोपटक सफल आरोहण भएको छ । उक्त हिमालमा हालै ६ जना शेर्पासहित एक विदेशी नागरिकले पहिलो पटक सफल आरोहण गरेसँगै नेपालबाट आरोहणको ढोका खुलेको हो ।

पर्यटन विभागका अनुसार नेपालतर्फबाट पहिलो पटक चोओयुको सफल आरोहण भएको छ । गत शुक्रबार छजना शेर्पा र एकजना फ्रान्सका नागरिकले चोयु चढ्न सफल भएका थिए ।


सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार नेपालतर्फबाट नयाँ रुट (एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट) चोओयुको पहिलो पटक आरोहण सफल भएको हो ।  यसअघि  नेपालतर्फबाट चोओयुको आरोहणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।

आरोहणका लागि निकै कठिन मानिने चोओयु आरोहणले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । चोओयु हिमाल चीनतर्फबाट मात्रै आरोहण हुँदै आएको थियो ।

 विभागको पर्वतारोहण शाखाका अनुसार आरोहण टिममा फ्रान्सका अलास्डिर म्याकान्जि, नेपालबाट गाल्जे शेर्पा, छान्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेम्वा शेर्पा, लाक्पा तेन्जी शेर्पा, निग्मा ओङदा शेर्पा छन् ।

चोयु हिमाल आरोहण गरी आज काठमाडौँ आइपुगेको टोलीलाई विमानस्थल र पर्यटन बोर्डमा आयोजित कार्यक्रममा भव्य सम्मान गरिएको छ । बोर्ड, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले संयुक्त रुपमा आरोही टोलीलाई सम्मान गरेको हो ।

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले नेपाली टोलीले लामो समयको प्रयासपछि कठिन, साहसिक र जोखिमपूर्ण मानिएको चोयु आरोहण गरेर नेपालको पर्वतारोहणलाई विश्वभर नयाँ सन्देश दिन सफल भएको बताउनुभयो ।

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले विगतमा चीनतर्फबाट मात्रै आरोहण भइरहेको चोयुको आरोहण सफलताले अब नेपालबाटै आरोहीहरूले आरोहण गर्न पाउने भन्दै खुसी व्यक्त गरे । नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले पनि चोयु आरोहणको सफलताले पुनःविश्वभर नेपालको पर्यटन क्षेत्रको प्रचार हुने विश्वास व्यक्त गरे ।