चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ ।
गत आवमा तीनवटा मृत भेटिएकामा यस आवमा भने सातवटा बाघ मृतावस्थामा भेटिएका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार सबैजसो बाघ प्राकृतिक कारणले मरेका हुन् । तिमध्ये अधिकांश एकापसमा जुधेर मरेका हुन् ।
बाघ एक्लै बस्न रुचाउने जनावर भएकाले बासस्थानको रक्षा र आहाराको खोजीका क्रममा एकापसमा जुध्ने गरेको उनले बताए । “बाघको सङ्ख्या बढ्दा बासस्थानको खोजीका क्रममा जुध्ने गरेका छन् । अहिलेसम्म बूढो भएर र जुधेर मरेका बाघ मात्रै भेटिएका छन् । चोरी सिकारी र बिरामी भएर यो वर्ष बाघ मरेका छैनन्”, उनले भने । बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उनले बताए ।
निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गस्ती बढाएसँगै निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी सङ्ख्यामा मृत भेटिएका हुन् । सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन् । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ ।