गृहमन्त्रीलाई कांग्रेसको चुनौती : गिरीबन्धुको फाइल खोलेर कांग्रेसलाई दिण्डत गरियोस्



काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु जग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्री तयार हो कि होइन भन्दै प्रश्न गरेको छन्।

विहीबार प्रतिनिधि सभाको बैठकमा उनले काङ्ग्रेसले ७० विगाह जग्गा बेचेर कमीसन खाएको आरोप लागेको भन्दै त्यसको फाइल खोल्न गृहमन्त्री तयार हुनुपर्ने बताए।


उनले भने– ‘हामी बोलेकै थिएनौं तर उहाँले फायर खोल्नुभयो कि कांग्रेसले ७० बिघा जग्गा बेचेर कमिसन खायो । के यो आरोप सही थियो ? रौद्र रूपमा धारण गरेर उहाँले कांग्रेसमाथि आरोप लगाएपछि मौन धारण गर्न सकिएन, प्रतिवाद गरियो । प्रतिवाद गरेपछि भनियो कि कांग्रेसले लिखित रूपमा माफी माग्नुपर्छ । हिजो संविधान लेख्न बस्दा सँगसँगै बसेका थियौँ । झुटो आरोप लगाउनका लागि संविधानको अधिकार दुरुपयोग गर्न मिल्ने ? अनि सही प्रतिवाद गर्नका लागि नेपाली कांग्रेसलाई बन्देज अनुभूति गर्ने यो हुन सक्दैनथ्यो । त्यसैले हामीले भन्यौँ यो नेपाल हो उत्तर कोरिया होइन । कसैले झुटो आरोप लगाउँछ भने नेपाली कांग्रेसले सही प्रतिवाद गर्न सक्दछ ।’

उनले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु जग्गा प्रकरणमा भएको नीतिगत भ्रष्टाचारको छानबिन गर्न चुनौती समेत दिए । उनले ओलीले कांग्रेसलाई लगाएको ७० बिघा जग्गा बेचेर खाएको आरोपको छानबिन गर्न गिरीबन्धुको फाइल खोल्न गृहमन्त्री तयार हो भन्दै प्रश्न गरे । 

उनले भने, ‘यहाँ गृहमन्त्रीलाई खोज्न सोध्न चाहन्छु –सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका अध्यक्षले काङ्ग्रेसले गिरीबन्धुको ७० विगाह जग्गा बेचेर कमीसन खायो भनेर जे आरोप लगाउनु भएको छ। त्यसमाथि अनुसन्धान गरेर काङ्ग्रेसलाई दण्डित गर्न के तपाईं गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? मलाई थाहा छ खोल्न होइन, उहाँ बोल्न पनि सक्नुहुन्न।’

उनले भने– ‘म जान्दछु, गिरीबन्धुको फाइल खोल्न होइन बोल्न पनि उहाँ सक्नुहुन्न । बोल्न सक्नुभएको भए शिक्षामन्त्री विरुद्धको शब्द फिर्ता लिनुस् सम्माननीय पूर्वप्रधानमन्त्री ज्यू, उहाँले दमदार ढंगले भन्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन ।’