काठमाडौं। सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्धको रिटमा कारण देखाउ आदेश जारी भएको छ।
आइतबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊ आदेशसँगै दुवैलाई छलफलका लागि बोलाएको छ। सर्वोच्चले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति पनि तोकेको छ।
‘यसमा के कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सो को मनासि आधार र कारण तथा भए सवुद प्रमाणसहित म्याद सूचना पाएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् जवाफ पेश गर्नु भनी आदेश र रिट निवेदनको प्रतिलिपि साथै विपक्षीहरुका नाममा म्याद सूचना पठाइ सो को वोधार्थ महान्यायाधिवक्ताको कार्यालयमा दिइ म्याद भित्र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमअनुसार गर्नू,’आदेशमा भनिएको छ।
सहकारी ठगी प्रकरणमा लामिछाने संलग्न नरहेको भनी महान्यायाधिवक्ता कार्यालयले दिएको पत्र गैरकानुनी रहेको भन्दै दुवैजनालाई कारबाहीको मागसहित अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए।
सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबिच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेसी तोकेको छ।