खतिवडाको प्रश्नः पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता लिएपछि सेवा सुबिधा के हुन्छ?



काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन लागेको विषय संसदमा उठाएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको भन्दै उनले राज्यबाट पाउने सेवा सुविधाबारे के हुन्छ ? भन्दै सरकारको जवाफको माग गरेका छन् ।


उनले भने, ‘पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिका हैसियतमा सेवा सुविधा लिन मिल्दैन, राज्यले त्योबारे के सोचेको छ, संविधानमा के व्यवस्था छ सरकारले त्यसको जवाफ दिओस्।’

पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको चर्चा केही दिनयता सामाजिक सञ्जाल र मिडियामा चलिरहेको छ । यस विषयमा भण्डारीको तर्फबाट र एमालेबाट स्पष्ट जानकारी भने अहिलेसम्म दिइएको छैन ।