विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कोशी प्रदेश विनियोजन विधेयक, २०८१ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, २०८१ पेस गरेका थिए ।
नेपाली कांग्रेसका गोपाल तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सविना बजगाईंले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
त्यसअघि विशेष समयमा नेपाली कांग्रेसका भूपेन्द्र राईले प्रदेश संरचनामा प्रश्न खडा हुननदिन प्रदेशसभा सचेत हुनुपर्नेमा जोड दिँदै प्रदेशका धेरै ऐनमा त्रुटि भएकाले कार्यान्वयनमा समस्या हुने बताए । “निजामती सेवा ऐन, यातायात सेवा ऐन, र प्रदेश प्रहरी ऐनमा गम्भीर त्रुटि छन्,” उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का इन्द्रबहादुर आङबोले सार्वजनिक गरेको बजेट सन्तुलित भएको बताए ।
अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगन भएको छ ।