काँक्रेविहार हाफ म्याराथनको उपाधि पार्कीलाई



काँक्रेविहार । काँक्रेविहार हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका गोपिचन्द्र पार्कीले जिते । विश्व ओलम्पिक डेका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको २१ किलोमिटरको हाफ म्याराथनमा उनले निर्धारित दूरी एक घण्टा नौ मिनेट १९ सेकन्डमा पूरा गरे ।

यस्तै एक घण्टा नौ मिनेट २४ सकेन्डमा दौड पूरा गरेका राजन रोकाय दोेस्रो भए । तेस्रो भएका रामजी बस्नेतले उक्त दौड एक घण्टा नौ मिनेट ४० सेकेन्डमा पूरा गरेका थिए । विजयी खेलाडीले क्रमशः रु एक लाख, रु ५० हजार र रु ३० हजार पुरस्कार प्राप्त गरे ।  


यस्तै, पुरुषतर्फको १० किलोमिटर दौडको उपाधि रत्नबहादुर खत्रीले जिते । उनले निर्धारित दूरी ३२ मिनेट ५८ सेकेन्डमा पार गरे । यस्तै ३३ मिनेट ५० सेकेन्डमा दू्री पार गरेका थिरबहादुर बुढा दोस्रो र ३४ मिनेट ४८ सेकेन्डमा दूरी पार गरेका रनबहादुर परियार तेस्रो भए । उनीहरुले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

 यस्तै, महिलातर्फको १० किलोमिटर दौडको उपाधि विमला कार्कीले प्राप्त गरिन् । उनले  निर्धारित दूरी ४४ मिनेट १६ सेकन्डमा पार गरिन् । दोस्रो भएकी सङ्गीता बुढाले ४४ मिनेट ५९ सेकेन्डमा तथा तेस्रो भएकी गीता सुवेदीले ५१ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पार गरिन् । उनीहरुले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।  

पुरुषतर्फ भएको पाँच किलोमिटर दौडको उपाधि अनिल शाहीले प्राप्त गर्दा भरत राना दोस्रो र सन्तोष शाही तेस्रो भए । उनीहरूले क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुरस्कार प्राप्त गरे । महिलातर्फको पाँच किलोमिटर दौडमा स्वस्तिका शाही प्रथम, कृष्णा राना दोस्रो र उर्मिला कँडेल तेस्रो भए ।

उनीहरूले क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुरस्कार प्राप्त गरे । पुरुषतर्फ भएको तीन किलोमिटर दौडको उपाधि साजन वलीले प्राप्त गरे । सो स्पर्धामा नारायण रेग्मी दोस्रो र नैनसिंह बुढा तेस्रो भए । कर्णाली खेलकुद विकास परिषद्को सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टरको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।