इमरान खानकी पत्नी बुशरा बीबीद्वारा सजाय स्थगन गर्न उच्च अदालतमा अपील



पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले मुद्दामा आफ्नो सजाय स्थगन गर्न माग गर्दै इस्लामाबाद उच्च अदालतमा निवेदन दिएकी छन् ।

हाल जेल सजाय विताइरहेकी बुशरा बीबीले आफ्ना वकिल सलमान सफदरमार्फत यो याचिका दर्ता गराएकी हुन् । जिओ न्यूजको रिपोर्टअनुसार ‘लामो समयसम्म थुनामा राखिएको’ मा आलोचना गर्दै याचिकामा भनिएको छ, “उहाँको सजायविरुद्ध परेको अपिलको सुनुवाइ विचाराधीन छ । न्यायको हितमा निवेदक (बुशरा) को सजाय निलम्बनको निर्णय यथाशीघ्र गर्नु अत्यावश्यक छ ।”


बुशरा बीबीका पूर्वपति खवर मेनकाले उनीहरूको विवाहको विरोधमा अदालतमा निवेदन दिएपछि भएको सुनुवाईको फैसला सुनाउँदै गत फेब्रुअरीमा इमरान खान र बुशरा बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको थियो ।

जियो न्यूजका अनुसार ५१ पृष्ठ लामो फैसलामा न्यायाधीशले उनीहरूको विवाहले बेइमानी झल्काएको र प्रत्येकलाई पाँच लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकेकोे छ ।

अदालतको फैसलापछि खान दम्पतीले जिल्ला अदालत तथा आपराधिक मुद्दाहरू हेर्ने विशेष अदालतमा आफ्नो सजायविरुद्ध याचिका दायर गरेका थिए ।

तर, मेनकाले सुनुवाईका लागि तोकिएका न्यायाधीश शाहरुख आरजुमान्डमाथि अविश्वास प्रकट गरेपछि यो मुद्दा अतिरिक्त जिल्ला अदालत र पुनरावेदन अदालतका न्यायाधीश मोहम्मद अफजल माजुकालाई हस्तान्तरण गरिएको थियो ।

पाकिस्तान तेहरीक–ए–इन्साफले यस विकासको आलोचना गर्दै यसलाई ‘न्यायको प्रावधानमा जानाजानी विलम्ब’ गरिएको बताएको छ ।

पीटीआईको विशेष समितिले पूर्व प्रधानमन्त्री खान र उनकी पत्नी बुशरा बीबी तत्काल जेलबाट रिहा गर्न योग्य रहेको बताएको छ ।